(१) प्रचलित अन्य नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि थुनुवा कैदी भागे भगाएको वा दफा
२२ को उपदफा (१) अन्तर्गतको मुद्दा मामिला हेरी किनारा गर्ने अधिकार जुन इलाकाको
कारागारको कैदी वा थुनुवा हो सोही इलाकाको जिल्ला अदालतलाई हुनेछ ।
(२) दफा २२ को उपदफा (२) अन्तर्गतको अपराधको ठाडो जाँचबुझ गरी सजाय
गर्ने अधिकार सम्बन्धित जेलरलाई हुनेछ र निजले यस उपदफा अन्तर्गत दिएको कुनै
आदेश उपर पुनरावेदन लाग्ने छैन ।
तर यस उपदफा अन्तर्गत जेलरले कुनै थुनुवा वा कैदीलाई सजाय गरेकोमा
त्यस्तो सूचना सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिनुपर्छ ।
(३) प्रचलित अन्य नेपाल कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा २५
अन्तर्गतको अपराध सम्बन्धी मुद्दा मामिला हेरी किनारा गर्ने अधिकार सम्बन्धित प्रमुख
जिल्ला अधिकारीलाई हुनेछ । प्रमुख जिल्ला अधिकारीले गरेको त्यस्तो निर्णय उपर
सम्बन्धित जिल्ला अदालतमा पुनरावेदन लाग्नेछ ।
(४) दफा २२ को उपदफा (१) दफा २४ र दफा २५ अन्तर्गतको अपराधको
तहकिकात गरी मुद्दा चलाउने कर्तव्य सम्बन्धित जेलरको हुनेछ र सो बमोजिम
तहकिकात गर्दा कसूरमा मुछिएको व्यक्तिलाई गिरफ्तार गर्ने कुनै व्यक्ति वा स्थानको
तलासी लिने, अभियुक्तलाई बयान गराउने, सरजमीन मुचुल्का तयार गर्ने समेत प्रचलित
नेपाल कानुनले प्रहरीले पाए सरहको सबै अधिकार जेलरलाई हुनेछ र त्यस्तो तहकिकात
गर्दा पहिलेदेखि थुना वा कैदमा रहेका बाहेक अभियुक्तलाई तारीखमा राख्ने वा जमानीमा
छाड्ने बारे अदालतलाई भए सरहको अधिकार पनि आवश्यकतानुसार जेलरलाई हुनेछ ।
(५) उपदफा (४) अन्तर्गत जेलरले गिरफ्तार गरेको व्यक्ति मध्ये पहिलेदेखि थुना
वा कैदमा रहेका व्यक्ति बाहेक अरूलाई बाटाका म्याद बाहेक चौवीस घण्टा भन्दा बढी
हिरासतमा राख्नु पर्ने भएमा जेलरले मुद्दा हेर्ने अधिकारीको अनुमति लिई बढीमा सात
दिन सम्म थप हिरासतमा राख्नु हुन्छ ।